धनगढी- आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह‘मनु’ले टिकट पाउने सम्भावना बलियो देखिएको छ ।
कांग्रेसकी प्रभावशाली नेता एवम् प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा यहाँबाट प्रत्यक्ष चुनाव नलड्ने भएपछि शाहको सम्भावना बलियो देखिएको हो । कांग्रेस कैलालीका निबर्तमान सभापतिसमेत रहेका शाहले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि आकांक्षा राखेका छन् । कांग्रेस कैलालीको १० वर्ष सभापति भएका शाहको जिल्लामा राम्रो पकड पनि छ ।
पार्टी संगठन, जिल्ला एवम् प्रदेशमा उनले दिएको योगदानलाई लिएर उनलाई उनका समर्थकहरुले प्रतिनिधि सभाको निर्वाचनका लागि योग्य उम्मेदवारका रुपमा अगाडि सारेका छन् । यसअघि कांग्रेसको प्रदेश सभापतिका लागि आकांक्षा राखेका शाह तत्कालिन केन्द्रीय सदस्य बीरबहादुर बलाएर आएपछि पछि हटेका थिए । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा प्रदेश सभापति छोडेका शाह अहिले प्रतिनिधि सभा सदस्यका लागि अगाडि आएका हुन् । उनी अहिले उपचारको क्रममा भारतीको दिल्लीमा रहेपनि टिकटका लागि लबिङ गरिरहेका छन् ।
आरजुले यसपटक नलड्ने भएपछि जिल्ला बाहिरका नेताहरुले पनि यस क्षेत्रबाट चुनाव लड्ने आकांक्षा नराखेका भने होइनन् । तर स्थानीयले नै टिकट पाउनुपर्छ भन्ने यस क्षेत्रका बासिन्दाको बुलंद आवाज छ । आरजुरले मैदान छोडिसकेको र पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाको कारबाही फुकुवा नगरिसकेको अवस्थामा टिकट पाउनुपर्ने पहिलो अधिकारी स्थानीय नेता भएकै कारण यसको प्रमुख दावेदार पनि महामन्त्री शाह नै हुने उनी समर्थक एक नेताले बताए । ‘यस क्षेत्रमा पहिलो दाबेदारका रुपमा रहनुभएकी डा. आरजु राणा देउवा समानुपातिकमा बसिसक्नुभएको छ,’ उनले भने, ‘पुस्करनाथ ओझालाई पनि पार्टीले कारबाही फुकुवा गरेको छैन । यो अवस्थामा पार्टीमा बलियो पकड बनाउनुभएका महामन्त्री ओझा नै टिकटका लागि योग्य हुनुहुन्छ । उहाँले टिकट पाएको अवस्थामा जित्ने सम्भावना पनि धेरै हुन्छ ।’
पार्टीले कारबाही गरेको भएपनि पूर्वराज्यमन्त्री ओझा पनि पार्टीले आफूलाई टिकट देओस् भन्ने पक्षमा छन् । पार्टीले टिकट नदिए स्वतन्त्र रुपमा अलगै चुनाव नलड्ने पक्षमा उनी देखिन्छन् । यो अवस्थामा महामन्त्री शाहले टिकट पाएको खण्डमा ओझाले पनि उनलाई सहयोग गर्ने सम्भावना रहेको शाह पक्षधर नेताहरु बताउँछन् । ‘अहिले मनु शाह र पुस्करनाथ ओझामध्ये जसले टिकट पाएपनि एक अर्कालाई सहयोग गर्ने पक्षमा छन्,’ ती नेताले भने, ‘कारबाही गरिएको भनेर ओझालाई टिकट नदिन सक्ने सम्भावना पनि रहन्छ । यो अवस्थामा शाहले टिकट पाउने सम्भावना बढ्छ । उनलाई ओझाले पनि सहयोग गर्छन् ।’ यदि कारबाही फुकुवा गरेर ओझाले नै टिकट पाएको खण्डमा पनि शाहले ओझालाई सहयोग गर्ने उनले बताए । तर कारबाहीकै कारण ओझाले टिकट पाउने सम्भावना भने न्युन रहेको उनको भनाइ छ ।
अर्कोतर्फ ओझाले विगतमा आफूविरुद्ध उत्रिएका नेताले टिकट लिएर आएको खण्डमा फेरि असहयोग गर्न सक्ने सम्भावना पनि रहेको कांग्रेसकै केही नेताहरु बताउँछन् । ‘आरजुले टिकट पाएको खण्डमा ओझा आफै पनि स्वतन्त्र भएर उठ्न सक्ने सम्भावना पनि रहन्थ्यो,’ कांग्रेसका एक नेताले भने, ‘उनको विरुद्धमा विगतमा लागेका स्थानीय नेताहरुले टिकट लिएर आएको खण्डमा उनी खुला रुपमा नभएपनि असहयोग गर्न सक्छन् । खासमा यहाँ स्थानीय नेताले नै टिकट पाउनुपर्छ भन्ने ओझाको भनाइ हो ।’ ओझाले चुनावमा फेरि पनि असहयोग गरेको खण्डमा कांग्रेस चुनाव जित्न चुनौती देखिन्छ ।
ओझाले असहयोग गर्ने संकेत पाएपछि आरजु पछि हटेर समानुपातिकमा बस्न बाध्य भएको अवस्थामा उनको कारबाही फुकुवा हुने सम्भावना पनि कम रहेको छ । यद्यपि ओझाले पार्टीबाट टिकट नपाए स्वतन्त्र वा अन्य कुनै दलबाट चुनाव लड्ने उद्घोष भने गरेका छैनन् । उनी अवस्था हेरेर निर्णय लिने तयारीमा छन् ।
को-को छन् आकांक्षी ?
आरजु राणा देउवाले कैलाली–५ छोडेपछि यहाँबाट चुनाव लड्न यसै क्षेत्रकादेखि जिल्ला बाहिरका नेताहरु आकांक्षी देखिएका छन् । गठबन्धनको भागबण्डा मिलाउने बाहानामा होस् वा आरजु पछि हटेपछि होस् यहाँ केन्द्रीय नेतादेखि स्थानीय स्तरका नेताहरु चुनाव लड्न चाहन्छन् ।
यहाँबाट काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, अर्जुनजंगबहादुर सिंह, सुनिल भण्डारी, नृपबहादुर वड, प्रकाश देउवा, डिल्लीराज पन्तलगायतका नेताहरु टिकटका लागि लागिरहेका छन् । सत्ता गठबन्धन दलहरुले कैलालीमा चुनावी भागबण्डा गरिसकेको छैन । कैलाली क्षेत्र नम्बर ५ कुन दलको भागमा पर्ने भन्ने विषय निश्चित नभइसकेको हुँदा टिकट वितरण पनि लम्बिरहेको छ । यद्यपि कैलाली–५ नेपाली कांग्रेसको प्रभाव क्षेत्र भएका कारण यो क्षेत्र कांग्रेसको भागमा पर्ने बलियो सम्भावना रहेको बताइन्छ ।














