विस्कन्सिन (अमेरिका) । एसएमजी नेपाली एफसीको आयोजनामा म्यानिटोवकको सुन्दर सिल्भर ग्रिन पार्कमा पिकनिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।
झण्डै १५० जना नेपाली समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकादेखि युवा,विद्यार्थीलगायतकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बालबालिकाका लागि रोचक खेल र र्याफल गेमको आयोजना गरि उनीहरूलाई मनोरञ्जन प्रदान गरिएकाे थियाे । त्यस्तै, महिला दिदीबहिनीहरूको नाचगानले पिकनिकको माहोललाई थप रमाइलो बनाएकाे थियाे । पिकनिकमा Green Bay University का नेपाली विद्यार्थीहरूको सक्रिय र रोचक उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा एसएमजी नेपाली एफसीका अध्यक्ष हृदय न्यौपाने, उपाध्यक्ष बिवेक तिमिल्सेना र कोषाध्यक्ष हरि जैशीले नेपाली युवाहरूलाई एकजुट गर्दै समाजमा सकारात्मक योगदान दिनुपर्ने विषयमा जोड दिए। उनीहरूले क्लबले भविष्यमा समेत यस्ता सामाजिक र सशक्तिकरणमूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
पिकनिकमा सहभागीहरूले नेपाली परिकारको विशेष स्वादको प्रशंसा गरेका थिए । जसको श्रेय मुख्य सेफ खेम जोशीलाई दिइएको थियो। कार्यक्रममा उनको मेहनत र स्वादिष्ट खानाको लागि उपस्थित सबैले धन्यवाद व्यक्त गरे।
त्यस्तै, NRNA Wisconsin Chapter का सचिव तथा एसएमजी क्लबका सल्लाहकार लब कुँवरले समेत सबै युवा र क्लब सदस्यहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमहरूले विदेशमा समेत नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने कार्य गर्ने बताए।
उनले पिकनिक कार्यक्रम अत्यन्तै सफल भएको बताउँदै, आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरूको आयोजना हुने आशा व्यक्त गरे।
कार्यक्रमले विद्यार्थी, अभिभावक र समाजका अग्रजहरूलाई एउटै ठाउँमा समेट्दै, परदेशमा पनि आफ्नो संस्कृति, भाइचारा र सहकार्यलाई जीवित राख्ने प्रेरणा दिएको छ।














