धनगढी । धनगढीमा आज ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता २०८२ आयोजना हुँदैछ। ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक हुन लागेको यो प्रतियोगितामा विभिन्न तौल वर्ग र उमेर समूहका खेलाडिहरुले प्रतिष्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा पुरुष र महिला खेलाडीले सहभागिता जनाउनेछन्। सुदूरपश्चिमका सबैभन्दा बलिया खेलाडी बिच प्रतिस्पर्धा हुने भएकाले यसलाई विशेष रुचीपूर्वक हेरिने अपेक्षा गरिएको छ।
प्रतियोगितामा विजेता महिला तथा पुरुषलाई नगद रु १०/१० हजार र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन करिब आठ लाख खर्च अनुमान गरिएको जनाइएको छ । ब्ल्याक स्टोन फिटनेस धनगढीका सह–संस्थापक तथा प्रमुख प्रशिक्षक ज्ञानेन्द्रराज पाण्डेका अनुसार लामो समयदेखि जिम गर्दै आएका युवायुवतीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिलाउन प्रतियोगिताको आयोजना गरिएको हो।
उनले भने ‘यो केवल प्रतियोगिता मात्र होइन, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै मेहनत गरेका खेलाडीहरूको आत्मविश्वास र सीप प्रदर्शन गर्ने थलो पनि हो ।’
पाण्डे हालै सम्पन्न एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा प्रथम स्थान हासिल गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका खेलाडी समेत हुन्। यसैले धनगढीमा हुन लागेको ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता थप महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।













