धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारको चालु आव २०८२÷८३ का पाँच महिनाको बजेट खर्च निराशाजनक देखिएको हो ।
चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा प्रदेश सरकारको कूल विनियोजित बजेटको सात दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ५३ करोड ६८ लाखमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख वाशुदेव जोशीले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु दुई अर्ब १० करोड ६७ लाख अर्थात् १५ दशमलव ४५ प्रतिशत र पूँजीगततर्फ रु ४३ करोड एक लाख अर्थात् दुई दशमलव १७ प्रतिशत खर्च गरेको छ ।
उनले सो अवधिमा सामाजिक विकास मन्त्रालयले रु ८५ करोड ४७ लाख,भौतिक पूर्वाधार विकास मन्त्रालयले रु ४९ करोड ८५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु २५ करोड ८९ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु २० करोड एक लाख खर्च गरेको जानकारी दिए ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु चार करोड ७३ लाख,आर्थिक मामिला मन्त्रालयले रु तीन करोड ६९ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु एक करोड १२ लाख खर्च गरेको उनले जानकारी दिए ।
त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु पाँच करोड पाँच लाख, प्रदेश लोक सेवा आयोगले रु दुई करोड ३४ लाख र प्रदेश नीति तथा योजना आयोगले रु ९५ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३३ अर्ब ४७ करोड ६० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख, पूँजीगततर्फ रु १९ अर्ब ८३ करोड २ लाख र वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ४२ करोड ७७ लाख बजेट विनियोजन गरेको थियो ।













