धनगढी । धनगढी उपमहानगरपालिकाले बिरामीलाई रगत दिनुअघि आवश्यक सामानसंगै टेष्टमा लाग्ने खर्च उपलब्ध गराउँदै आएको छ । आर्थिक बर्ष २०८१ साउन १ गतेबाट धनगढी उपमहानगरपालिकाले सो खर्च उपलब्ध गराउँदै आएको हो ।
विरामीलाई रगत दिनु अघि रगत तथा रगत जन्य पदार्थ उपलब्ध गराउँदा आवश्यक सामाग्री र एचआइभी,क्रसम्याच,सिफलिस,हेपाटाइटिस वि जाँचमा लाग्ने खर्च एक हजार १५० रुपैया उपमहानगरपालिकाले उपलब्ध गराउँदै आएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले निशाना न्युजलाइ जानकारी दिए ।
धनगढी क्षेत्रभित्र रहेका सरकारी तथा निजिी अस्पतालमा उपमहानगरपालिकाले सो सेवा उपलब्ध गराउँदै आएको उनले बताए ।
आर्थिक बर्ष २०८१।८२ को अषाढ मसान्तसम्ममा उपमहानरगपालिकाले ४६० जना विरामीका लागि १५३० पिन्ट रगत उपलब्ध बाफत १७ लाख ५९ हजार पाँच सय भुक्तानी गरेको उनको भनाइ छ ।
त्यस्तै आर्थिक बर्ष २०८२।८३ कार्तिक महिना सम्ममा ८६ जना बिरामीलाई २१३ पिन्ट रगत उपलब्ध भएको उनले बताए ।
उपमहानगरपालिकाले सो बाफत पिन्ट रगतको २ लाख ४४ हजार ९५० रुपया भुक्तनी उपलब्ध गराउने प्रकृयामा लागेको उनले बताए ।
धनगढी क्षेत्र भित्र स्थायी बसोबास भएका व्यक्तीलाई निजी तथा सरकारी अस्पतालका डाक्टरले विरामीलाई रगत आवश्यक परेको भनि प्रमाणित कागज जात सहित व्लड बैंक गएमा सोझै आवश्यक रगत उपलब्ध हुने गरेको उनले बताए ।













