धनगढी । धनगढीस्थित एरिष्टो माध्यमिक विद्यालयको ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. धर्मराज उपाध्याय रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक शान्ति अधिकारीले गरेकी थिइन्।
समारोहमा प्याब्सन कैलालीका अध्यक्ष ध्रुवबहादुर सिंह, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी तथा शिक्षा क्षेत्रमा ३० वर्ष लामो योगदान दिएका हेमराज अधिकारी उपस्थित थिए।
कैलाली विद्या निकेतनका संस्थापक तथा प्रिन्सिपल टोपेन्द्र शाह, थ्रिस्टार स्कुलका प्रिन्सिपल गोपाल शर्मा लगायतअभिभावक, पत्रकार, विद्यार्थी र शिक्षाप्रेमी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. उपाध्यायले एरिष्टो माध्यमिक विद्यालयले समयअनुकूल तथा युगले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। प्याब्सन अध्यक्ष धुर्व बहादुर सिंहले विद्यालयले धनगढीका अन्य विद्यालयभन्दा फरक पहिचान बनाएको उल्लेख गर्दै अझ प्रगति गर्न शुभकामना व्यक्त गरे।
वडा अध्यक्ष जुगराम चौधरीले विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए। संस्थापक शान्ति अधिकारीले अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको बताइन्।
कार्यक्रमका अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विशेषगरी एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मानसहित ल्यापटप वितरण गरिएको थियो।













