बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छन्।
प्रसूति व्यथा सुरु भएपछि उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्। स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया बाटोमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् ।
स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो ।
स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन्। हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ।













