धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो।
भट्टलाई समातेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार अनुसार भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। भट्टलाई हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।













