टंक कुंवर
धनगढी । धनगढी उपमहानगरपालिका–१, शान्तिनगर हरियाली टोलकी ज्योति घर्तिमगरको जीवन कहिले कठिनाइ र संघर्षबाट मुक्त भएको थिएन। विगतमा घरखर्च चलाउन मुस्किल भइँदै गर्दा उनी कामको खोजीमा रहन्थिन्। तर अहिले उनको जीवनमा परिवर्तन आएको छ – एउटा सानो बंगुर र सहकारी संस्थाको सहयोगले उनलाई आर्थिक स्वतन्त्रता र आत्मविश्वास दियो।
ज्योति बताउँछिन्, “पहिले घरखर्च चलाउन त मुस्किल हुन्थ्यो। काम खोज्दै हिँड्ने दिन धेरै थिए। तर ‘किसान बहुउदेश्यीय सहकारी संस्था’ संग सदस्य भएपछि मैले व्यवसाय गर्ने हिम्मत पाएँ।”
सहकारीको सदस्य बनेपछि उनी १० हजार रुपैयाँ ऋण लिएर एक बंगुरबाट व्यवसाय सुरु गरिन्। व्यवसाय राम्रोसँग चलेपछि थप ३ लाख रुपैयाँ ऋण लिएर बंगुरको संख्या पाँच पुर्याइन्। अहिले उनी जन्मिएका पाठापाठी बेचेर वार्षिक करिब ५ लाख रुपैयाँ आम्दानी गर्छिन्, जसबाट डेढदेखि दुई लाख रुपैयाँ बचत हुने गरेको छ।

ज्योति थप्छिन्, “यदि किसान सहकारी संस्था नभएको भए म व्यवसायको हिम्मत पाउँदिनथेँ। सहकारीको सहयोगले देशमै बसेर घरखर्च र छोरीको पढाइ सहज भएको छ।”
उनकी छोरी अहिले स्कुल पढ्दै छिन् र परिवारको आवश्यक खर्च सहजसँग व्यवस्थापन भइरहेको छ। ५ सदस्यीय परिवार भएकी ज्योतिको अनुभवले देखाउँछ कि सहकारी संस्थाहरूले ग्रामीण महिलालाई उद्यमशील बनाउन, आर्थिक स्वतन्त्रता दिलाउन र जीवनस्तर सुधार्न कति प्रभावकारी भूमिका खेल्न सक्छ।
भविष्यका लागि ज्योति बाख्रापालन पनि सुरु गर्ने योजना बनाइरहेकी छिन्। उनको कथा सानो व्यवसाय र सहकारी संस्थाको सहयोगले जीवनमा कस्तो ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो।
ज्योतिको अनुभवले प्रमाणित गर्यो कि साहस, मेहनत, र सहकारी संस्थाको समर्थनले व्यक्तिगत संघर्षलाई अवसरमा परिवर्तन गर्न सकिन्छ। ग्रामीण महिला उद्यमशीलता प्रवर्द्धनमा यस्तो उदाहरणले अरूलाई पनि प्रेरित गर्छ।























