धनगढी । धनगढी उप–महानगरपालिकाले नियमित चौथो वर्ष पनि महिलाको प्रजनन स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले “प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रम” अन्तर्गत HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त शिविर २०८२ साल चैत्र १५ गतेदेखि विभिन्न वडाहरुमा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यतालिकाअनुसार चैत्र १५ गते वडा नं. ७ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, बेलीमा शिविर सुरु हुनेछ भने चैत्र १६ गते वडा नं. १९ को फुलबारी स्वास्थ्य चौकीमा सञ्चालन गरिनेछ। त्यसैगरी चैत्र १७ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रदान गरिनेछ। चैत्र २० गते वडा नं. ३ र चैत्र २२ गते वडा नं. ४ का आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा शिविर सञ्चालन हुनेछ।
यस्तै चैत्र २३ गते वडा नं. १३ स्थित शहरी स्वास्थ्य केन्द्र, कैलालीगाउँमा कार्यक्रम हुने जनाइएको छ भने चैत्र २५ गते वडा नं. ५ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रदान गरिनेछ। अन्तिम चरणमा चैत्र २६ गते वडा नं. ६ स्थित शहरी स्वास्थ्य केन्द्र, मटियारीमा शिविर सञ्चालन हुने छ।
यस कार्यक्रम अन्तर्गत ३० वर्षदेखि माथिका तथा महिनावारी बन्द नभएका महिलाहरु, HPV DNA परीक्षण गराएको ५ वर्ष पूरा भएका महिलाहरु र यसअघि परीक्षण गर्दा पोजिटिभ नतिजा आएका महिलाहरुलाई लक्षित गरिएको छ।
धनगढीका नगर प्रमुख गोपाल हमालले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। उनले सबै योग्य महिलालाई निःशुल्क परीक्षण सेवा लिन आग्रह गर्दै समयमै परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने उल्लेख गरेका छन्।
पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले समयमै परीक्षण र पहिचान अत्यन्त आवश्यक मानिन्छ। HPV DNA विधि आधुनिक तथा प्रभावकारी परीक्षण प्रणाली भएकाले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। धनगढी उप–महानगरपालिकाले सम्बन्धित वडामा बसोबास गर्ने सबै योग्य महिलाहरुलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। यो कार्यक्रम विगत तिन वर्षदेखी संचालनमा रहेको छ।













