धनगढी । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री वितरणलाई तीब्र बनाएको छ । नयाँ शैक्षिकसत्र २०८३ का लागि पाठ्यपुस्तक बिक्री वितरणलाई तीब्र बनाएको हो ।
शैक्षिकसत्र सुरु हुनुअगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने योजनासहित पाठ्यपुस्तक बिक्री विरतरण तथा ढुवानीको काम भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्मलकुमार यादवले जानकारी दिए ।
उनले हिमाली तथा दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण तथा ढुवानी गर्ने भइरहेको बताए । उनले भने ‘हामीले चैत १६ गतेबाट पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेका हौँ । सबैभन्दा पहिले बाजुरा र दार्चुलामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको हो । चैत ३० गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने योजना छ ।’
छुटपिट भएका ठाउँमा दोस्रो चरणमा शैक्षिकसत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक पुर्याइने उनले बताए । पुस्तक अभाव पनि नभएको र करिब ८० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक कार्यालयमा आइसकेको उनले जानकारी दिए ।
केन्द्रले चैत २१ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा ३ लाख १ हजार थान बिक्री वितरण गरेको तथा उक्त पुस्तक बिक्री वितरणबाट ३ करोड ७४ लाख ७० हजार बराबरको कारोबार भएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।
केन्द्र स्थानीय पुस्तक बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्नेे गरेको छ । आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशभरि १६ लाख ५० थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कक्षा ३ र ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्री वितरण गर्नेे कार्यालय प्रमुख यादवले जानकारी दिए ।













