टंक कुंवर
कैलाली । धनगढी–५, तारानगर निवासी बलदेव प्रसाद भट्ट अहिले अत्यन्त व्यस्त जीवन बिताइरहेका छन्। बैतडी हुँदै डडेल्धुराबाट २०४२ सालमा तराई झरेका भट्ट ३६ वर्ष सरकारी सेवामा वन प्राविधिकका रूपमा कार्यरत रही भु-संरक्षण अधिकृतबाट सेवा निवृत्त भएका हुन्। तर, निवृत्तिपछि खाली समय कसरी बिताउने भन्ने चिन्तालाई उनले अवसरमा बदले—फुलखेती र नर्सरी व्यवसाय सुरु गरेर।
सरकारी सेवाबाट निवृत्त भएपछि उनले आफ्नो सीप र अनुभवलाई उपयोग गर्दै फुलखेती तथा नर्सरी व्यवसाय रोजेका हुन्। सुरुमा आर्थिक अभाव भए पनि हिमशिखर सहकारी संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय थालेको उनले बताए। “रिटायर्ड लाइफमा के गर्ने भन्ने अन्योल थियो, त्यसैले आफूले जानेको कामलाई नै व्यवसाय बनाउने सोचें,” भट्टले भने।
हाल उनले ५ कठ्ठा जमिनमा फुलखेती र ४ कठ्ठामा नर्सरी सञ्चालन गरिरहेका छन्। नर्सरी व्यवसाय भने परिवारले २०६३ सालदेखि सानो स्तरमा सुरु गरेको भए पनि सेवा निवृत्तिपछि उनले यसलाई विस्तार गरेका हुन्। अहिले उनको नर्सरीबाट फलफूलका बिरुवा, वनविरुवा, डालेघाँस, बाँस, जडिबुटी तथा विभिन्न प्रकारका फूल बिक्री भइरहेका छन्।
भट्टका अनुसार वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार हुने गरेको छ, जसबाट खर्च कटाएर करिब १२ लाख रुपैयाँ बचत हुने गरेको छ। उनका उत्पादनहरू कैलाली, कञ्चनपुर तथा पहाडी जिल्लाहरूमा खपत भइरहेका छन् भने आंशिक रूपमा काठमाडौं, दोलखा र रौतहटसम्म पनि पुग्ने गरेका छन्।
फुलखेतीका लागि उनलाई धनगढी उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र कैलाली र कृषि विकास निर्देशनालय दीपायलबाट ५० प्रतिशत अनुदान सहयोग प्राप्त भएको छ। सहकारीबाट लिएको ऋणले व्यवसाय सुरु गर्न ठूलो सहयोग पुगेको उनको भनाइ छ।
उनका अनुसार फुलको माग अत्यधिक बढ्दो छ। “कैलालीमै माग धान्न गाह्रो हुन्छ, यहाँ खपत नभएपछि मात्र काठमाडौं पठाउने गर्छु,” उनले भने। १३ सदस्यीय परिवारका अधिकांश सदस्य यही व्यवसायमा संलग्न छन् भने एक जना सहयोगीलाई मासिक १८ हजार तलबमा राखिएको छ।
फुलखेतीको मुख्य सिजन कार्तिक, मंसिर र असार महिनासम्म हुने भएकाले त्यसबेला कामको चाप बढ्ने गर्दछ। सो अवधिमा दैनिक ज्यालादारीमा कामदारहरू समेत राख्ने गरिएको उनले बताए।
भट्ट यस व्यवसायबाट अत्यन्त सन्तुष्ट छन्। “अब रिटायर्ड लाइफ कसरी बिताउने भन्ने चिन्ता छैन, जागिरमा सिकेको अनुभवलाई व्यवहारमा उतारिरहेको छु,” उनले भने। साथै, उनी विभिन्न स्थानमा नर्सरी व्यवस्थापन र फुलखेतीसम्बन्धी तालिममा प्रशिक्षकको रूपमा समेत सहभागी हुने गरेका छन्।
उनको सफलताले धेरैलाई प्रेरणा दिएको छ, विशेष गरी सेवा निवृत्तिपछि पनि उत्पादनशील र आत्मनिर्भर बन्न चाहनेहरूका लागि।
“रिटायर्ड जीवनलाई व्यवसायमा रूपान्तरणः धनगढीका बलदेव भट्टको उदाहरणीय सफलता”
“रिटायर्ड जीवनलाई व्यवसायमा रूपान्तरणः धनगढीका बलदेव भट्टको उदाहरणीय सफलता”
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













