धनगढी । धनगढी विमानस्थलमा यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा मंगलबारदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
विमानस्थलदेखि एयरपोर्ट गेटसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिएका यात्रुहरुले निःशुल्क ट्रलीबस सेवाले धेरै राहत मिलेको बताए । यशअघि यहाँ अटो रिक्सा तथा ट्याक्सीले लिने चर्को शुल्क र अटोवालासँग बार्गेनिङ’ गर्दा खेप्नुपर्ने झन्झट र गर्मीबाट छुटकारा पाएको उनीहरूको भनाइरहेको छ ।
धनगढी विमानस्थल प्रमुख बलकुमार सिंहले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए । उनले भने, ’करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपांगमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।’
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।
यो विमानस्थलबाट दैनिक चारसय बढी यात्रले यात्रा गर्ने गर्छन् । काठमाडौं–धनगढी–काठमाडौं रुटमा उडान भइरहेको यो विमानस्थलमा श्री एयरलायन्सले दैनिक पाँच र बुद्धले दैनिक दुई वटा उडान भर्ने गरेको धनगढी विमानस्थलका सुचना अधिकारी धर्मसिंह रानाले बताए ।
धनगढी विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सुरु
धनगढी विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













