धनगढी । धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा धनगढीस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
स्थापना दिवसका अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उपस्थितिमा छात्रावासमा पुगेर आवश्यक शैक्षिक तथा खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।
समाजप्रति विद्यालयको दायित्व केवल गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभई मानवीय संवेदना, सहयोग र सामाजिक सेवाको भावना विकास गर्नु पनि रहेको भन्दै उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
यसै अवसरमा विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्च बापतको रकम जम्मा गरेर हस्तान्तरण गरेका थिए भने अभिभावक ज्ञानु रोकायाले समेत सो कार्यमा सहयोग गरेकी थिइन् । यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
चैतन्य पाठशालाले विगत २६ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएको स्मरण गर्दै संस्थाको सफलताको वास्तविक आधार समाज, अभिभावक र विद्यार्थीहरूको विश्वास रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । विद्यालयले शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख कर्तव्यका रूपमा लिँदै आएको र आगामी दिनमा समेत यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
चैतन्य पाठशालाबाट हरेक समय प्राप्त सहयोगले दैनिक आवश्यकताको परिपूर्तिमा सहयोग पुग्नुका साथै आफूहरूलाई समाजले साथ दिएको अनुभूति दिलाएको आमाको माया छात्रावासका प्रमुख सुवास तामाङले बताए ।
स्थापना दिवसको अवसरमा गरिएको यस सहयोगात्मक कार्यक्रमले चैतन्य पाठशालाको सामाजिक प्रतिबद्धता, मानवीय संवेदना र सेवामूलक सोचलाई पुनः एक पटक उजागर गरेको जनाइएको छ । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा समाजमुखी गतिविधिहरूलाई निरन्तरता दिँदै शिक्षा र संस्कारको यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।













