गोदावरी । अविरल वर्षाका कारण गोदावरी खोलामा आएको आकस्मिक बाढीमा बगेर कैलालीको गोदावरी नगरपालिका-४ का दुई महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान च्याउ टिप्न गएका उनीहरूलाई खोलाले बगाएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराका अनुसार आज बिहान करिब पौने ७ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीबाट खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
खोजीका क्रममा गोदावरी-४ स्थित मसानघाट नजिकै ५ वर्षीया महेश्वरी धमलाको शव फेला परेको छ । ४० वर्षीया कल्पना साउँदलाई भने खोलाले बगाएको पुष्टि भए पनि शव भेटिएको छैन। उनको खोजी कार्य जारी छ ।
प्रहरीका अनुसार दुवै महिला बिहान करिब ६ बजे घरबाट च्याउ टिप्न जंगल गएका थिए । घटनास्थल अस्थायी प्रहरी पोष्ट गोदावरीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ । पहाडमा परेको अविरल वर्षाका कारण खोलामा एक्कासी बाढी आएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
डीएसपी महराले घटनाबारे थप जानकारी लिँदै स्थानीयसँग समन्वय गरेर उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको बताए ।
मनसुन सक्रिय रहेकाले खोलानाला तथा नदी किनारमा नजान र राति तथा बिहानको समयमा जंगल नछिरन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।














