धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
शुक्रबार सम्पन्न गाउँसभाको दोस्रो बैठकमा सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले “उत्पादन, रोजगारी र पूर्वाधार स् मोहन्यालको विकास र समृद्धिको आधार” भन्ने नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि गाउँसभाले बहुमतका आधारमा पारित गरेको हो।
पारित नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। स्थानीय स्तरमै आर्थिक गतिविधि विस्तार गरी समृद्धिको आधार तयार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि “एक वडा, एक खेलकुद मैदान” अवधारणा अघि सारिएको छ। यसले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले फलफूल खेती, गाईभैंसी, बाख्रा तथा स्थानीय जातका कुखुरा पालन गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने नीति लिइएको छ। साथै खेतीयोग्य जमिन बाँझो राख्ने व्यक्तिलाई वडाबाट प्रदान गरिने सेवा–सुविधामा कटौती गर्नुका साथै आवश्यक कारबाही तथा जरिवानाको व्यवस्था गर्ने प्रावधानसमेत समावेश गरिएको छ।
गाउँसभामा सदस्यहरू दीपेन्द्र माझी, ईश्वरी बिष्ट, यम गिरी, नानी दमाई, रतन भाट, प्रेम बुढा, नवराज कठायत, जयप्रकाश मल्ल, कृष्णबहादुर शाही, प्रवीण घर्तीमगर, बमबहादुर बुढा मगर, कोपिला भुल तथा कौशिला बुचा मगरलगायतले नीति तथा कार्यक्रममाथि सुझाव दिएका थिए। सदस्यहरूले उठाएका सुझावहरूलाई प्राथमिकताका साथ समेटिने प्रतिबद्धता गाउँपालिका उपाध्यक्ष कमल साउदले व्यक्त गरे ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शनिबार बजेट प्रस्तुत गर्ने जनाएको छ। बजेटमार्फत विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्थानीयस्तरको समृद्धिलाई तीव्रता दिने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा उपाध्यक्ष कमल साउद, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।













