धनगढी । एचआईभी,हेपाटाइटिस र यौन रोग सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनिकरणका लागि पत्रकार अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र काठमाण्डौँले आज धनगढीमा पत्रकार अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा केन्द्रका निर्देशक डा.सर्वेश शर्माले समाजमा व्याप्त लाञ्छना तथा भेदभावका कारण एचआईभी संक्रमित जाँच गर्न नआउने गरेको बताए । उनले समाजको भेदभावको डरले एचआईभी संक्रमितले बीचैमा उपचार समेत छोड्ने गरेको बताए ।
उनले अशिक्षा,स्वास्थ्यको कमीका कारण पनि एचआईभी संक्रमित जाँच तथा उपचारमा नआउने गरेको बताए । त्यस्ते,उनले नेपालमा औषधी पाउन नपाइने तथा खरिद गर्न समस्या रहेको उल्लेख गरे ।
उनले एचआईभी संक्रमितको जाँच तथा उपचारमा प्रदेश तथा स्थानीय सरकारले पनि बजेट विनियोजन गरेर काम गर्दा सहज हुने बताए ।
उनले देशभरी १९ हजार ८२१ जना पुरुष तथा १४ हजार ५१५ महिला एचआईभी संक्रमित रहेको बताउँदै २७ हजार ३६७ जनाले औषधी सेवन गरिरहेका बताए । त्यस्तै,सुदूरपश्चिममा ३ हजार ७९० जना एचआईभी संक्रमितले औषधी सेवन गरिहेका उनले बताए ।
निर्देशक शर्मका अनुसार हरेक वर्ष नयाँ एचआईभी संक्रमित थपिने दर ६१४ र वार्षिक मृत्यु हुनेको संख्या ५६८ रहेका छन् । उनले सरकारले सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने लक्ष्य लिएको बताए ।
त्यस्तै कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले समाजमा रहेको भेदभावका कारण एचआईभी संक्रमितको पहिचानमा समस्या हुने गरेको बताउँदै यसमा सचेतना आवश्यक भएको बताए ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले वर्षौदेखिको एचआईभी विरुद्धको लडाईले उल्लेखनीय उपलब्धि भएको बताइन् ।
उनले एचआईभी संक्रमण र मृत्यु दर ७६ प्रतिशतले घटेको बताइन् । समाजमा रहेको लाञ्छना र विभिदका बारेमा भ्रम र तथ्य प्रष्ट पार्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताइन् ।
कार्यक्रमको सहजीकरण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले गरेका थिए भने विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।













