टंक कुँवर
धनगढी । वैदेशिक रोजगारी नेपाली युवाका लागि बाध्यता जस्तै बनेको छ । घरपरिवारको पालनपोषण, छोराछोरीको शिक्षा र भविष्य सुरक्षित बनाउने आशामा हजारौं नेपालीजस्तै धनगढी उपमहानगरपालिका-१, शिवनगर केदारटोलका सुभाषबहादुर कुँवर पनि रोजगारीको खोजीमा विदेशिए ।
तर १३ वर्ष भारत र १६ वर्ष साउदी अरबमा पसिना बगाएपछि उनी अहिले आफ्नै देशमा केही गर्ने अठोटका साथ डेरी व्यवसायमा जुटेका छन् ।
नेपालमा रोजगारीको अवसर नपाएपछि सुरुमा भारत पुगेका कुँवरले त्यहाँ १३ वर्ष लामो संघर्ष गरे । त्यसपछि रोजगारीका लागि साउदी अरब पुगे, जहाँ डेरी उद्योगमा सवारी चालकका रूपमा १६ वर्ष काम गरे । त्यो संघर्षको एउटै उद्देश्य थियो—दुई छोरा र एक छोरीको पढाइ र परिवारको भविष्य सुनिश्चित गर्नु ।
‘विदेशमा कमाइ त भयो, तर आफ्नै देश र परिवारको साथ छुट्यो,’ कुँवर भन्छन्, ‘अरूको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गरौं भन्ने सोचले स्वदेश फर्किएको हुँ।’
करिब चार महिनाअघि नेपाल फर्किएका उनले फेरि विदेश नजाने निर्णय गरिसकेका छन् । विदेशमा डेरी उद्योगमा काम गर्दा हासिल गरेको अनुभवलाई उपयोग गर्दै उनले धनगढी उपमहानगरपालिका –१ चकमेली चोकमा ‘लक्ष्मी डेरी’ सञ्चालनमा ल्याएका छन् ।

‘यो त सुरुआत मात्र हो । अहिले नै आम्दानीको हिसाब गर्ने बेला भएको छैन,’ उनी भन्छन्, ‘व्यवसाय राम्रोसँग अघि बढ्यो भने विस्तार गर्दै लैजाने योजना छ ।’
विदेशको जीवन सम्झँदै उनी भावुक हुन्छन्। साउदीमा ५० डिग्री सेल्सियसभन्दा बढी गर्मीमा दैनिक १४ घण्टासम्म काम गर्नुपरेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यही मेहनत आफ्नै देशमा गर्न पाए केही न केही अवश्य गर्न सकिन्छ ।’
कुँवरको विश्वास छ—यदि सरकारले उद्यमीमैत्री वातावरण बनायो, साना व्यवसायलाई प्रोत्साहन गर्यो र स्वदेशमै अवसर सिर्जना गर्यो भने धेरै नेपाली विदेशिनुपर्ने अवस्था रहने छैन ।
उनी भन्छन्, ‘देशमा व्यवसाय गर्ने वातावरण अझ राम्रो बन्यो भने डेरीलाई अझ विस्तार गर्ने सोच छ। विदेशको अनुभव अब आफ्नै देशको समृद्धिमा लगाउन चाहन्छु ।’
सुभाष कुँवरको कथा केवल एक व्यक्तिको व्यवसायिक यात्रा मात्र होइन, विदेशको कठिन जीवनपछि स्वदेशमै सम्भावना खोज्ने हजारौं नेपाली युवाको साझा सपना पनि हो ।













