धनगढी । स्वास्थ्य कार्यालय कैलालीले जिल्लामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाको अनुगमनका क्रममा विभिन्न कमजोरी तथा मापदण्ड पालना नगरेको अवस्था भेटाएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा, सेवा सञ्चालनको अनुमति, न्यूनतम सेवा मापदण्ड तथा आवश्यक जनशक्तिको अवस्थालगायत विषयमा स्वास्थ्य कार्यालय कैलालीले अनुगमन गरेको हो।
स्वास्थ्य कार्यालय कैलालीले जिल्लामा तयार गरिएको अनुगमन प्रतिवेदनअनुसार १७ वटा डेन्टल क्लिनिकको अनुगमन गरिएकोमा १३ वटा नयाँ दर्ता भएको र ४ वटा बन्द गरिएको स्वास्थ्य कार्यालय कैलालीका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य बिष्टले निशाना न्युजलाई जानकारी दिए ।
त्यस्तै, १२ वटा निजी तथा सामुदायिक अस्पतालको अनुगमन गरिएको छ। अनुगमनका क्रममा एउटा नयाँ इजाजत दर्ता गरिएको, दुईवटा अस्पताललाई स्पष्टीकरण सोधिएको, तीनवटामाथि कारबाहीका लागि सिफारिस गरिएको तथा नौवटालाई मापदण्ड सुधार गरी आवश्यक प्रक्रिया पूरा गर्न सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य क्लिनिक तथा विशेषज्ञ क्लिनिकतर्फ ५० वटा संस्थाको अनुगमन गरिएको छ। तीमध्ये २६ वटा विशेषज्ञ क्लिनिक नयाँ दर्ता भएको, एउटा संस्था जिल्ला प्रशासन कार्यालयको रोहबरमा बन्द गरिएको र २४ वटालाई मापदण्ड तथा आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न सुझाव दिइएको छ।
यसैगरी सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने १२ वटा निजी स्वास्थ्य संस्थाको पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा कतिपय संस्थामा आवश्यक मापदण्ड पूरा नभएको, तालिमप्राप्त स्वास्थ्यकर्मी नभएको, इजाजतपत्रबिना सेवा सञ्चालन गरिएको तथा सेवा बन्द गरेपछि आवश्यक अभिलेख र प्रतिवेदन नराखिएको अवस्था भेटिएको प्रतिवेदनमा उल्लेख छ। यस्ता संस्थालाई आवश्यक निर्देशन दिइएको जनाइएको छ।
स्वास्थ्य संस्थाको नियमित अनुगमनमार्फत सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड, इजाजतपत्र, जनशक्ति, अभिलेख तथा सेवा गुणस्तर कायम गराउने उद्देश्य रहेको प्रतिवेदनले देखाएको छ। स्वास्थ्य सेवा प्रदायक संस्थाले तोकिएका मापदण्ड तथा कानुनी प्रक्रिया पूरा गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिएको छ।














