कैलाली । पत्रकार तथा समाजसेवी विरेन्द्रबहादुर रावलले कैलालीको राजीरेक्चास्थित स्पोर्ट्स स्टार युवा क्लबका १५ जना खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण गरेका छन्।
युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा विकास, अनुशासन, स्वास्थ्य तथा सकारात्मक सामाजिक गतिविधिमा सक्रिय बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले रावलले खेलाडीहरूलाई स्पोर्ट्स ड्रेस सहयोग गरेका हुन्।
स्पोर्ट्स ड्रेस वितरण कार्यक्रममा क्लबका खेलाडी तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। ड्रेस प्राप्त गरेपछि खेलाडीहरूले खेलकुद गतिविधिमा थप उत्साहका साथ सहभागी हुने बताउँदै सहयोगका लागि रावलप्रति आभार व्यक्त गरे।
कार्यक्रममा पत्रकार तथा समाजसेवी रावलले युवाहरू समाजका महत्वपूर्ण शक्ति भएकाले उनीहरूलाई कुलतबाट टाढा राख्दै खेलकुद तथा सिर्जनात्मक गतिविधिमा जोड दिनुपर्ने बताए।
स्थानीयस्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सहयोग र अवसर उपलब्ध गराउन सके खेलकुदका माध्यमबाट क्षेत्रको पहिचान राष्ट्रियस्तरसम्म पुर्याउन सकिने उनको भनाइ थियो।
क्लबका तर्फबाट १५ जना खेलाडीलाई स्पोर्ट्स ड्रेस उपलब्ध गराएकोमा रावलप्रति धन्यवाद व्यक्त गरिएको छ।
साथै, आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको क्लबले जनाएको छ।














