धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका सबै जिल्ला अस्पताल तथा प्रादेशिक अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरिएको हो।
सेती प्रादेशिक अस्पतालमा ५, महाकाली प्रादेशिक अस्पतालमा ४ र टीकापुर प्रादेशिक अस्पतालमा ३ वटा डायलाइसिस शय्या थप गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, लम्कीचुहा अस्पतालमा ५ वटा शय्या थप गर्ने तथा बयलपाटा अस्पताल र जोगबुढा प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरिएको छ।
प्रदेशका सबै जिल्ला अस्पतालमा दुई/दुई वटा डायलाइसिस शय्या थप गरी सेवा विस्तार गर्ने सरकारको योजना छ।
डायलाइसिस सेवा प्रदेशका विभिन्न अस्पतालमा विस्तार भएपछि मिर्गौला रोगका बिरामीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।














