काठमाडौँ । जिन्दगीको भागदौडमा हामी यति व्यस्त हुन्छौँ कि आफ्नो स्वास्थ्यको उचित हेरचाह गर्नै भ्याउँदैनौँ । तर बिहान अपनाइने केही स्वस्थ बानीहरूले तपाईँ दिनभरि ऊर्जावान् रहनु हुन्छ र धेरै रोगहरूबाट बच्न पनि सक्नु हुन्छ । तपाईँ पनि स्वस्थ र तन्दुरुस्त रहन चाहनुहुन्छ भने यो बदलिँदो मौसममा बिहान खाली पेटमा मनतातो पानी मात्र होइन अञ्जीर पानी पनि पिउन सक्नु हुन्छ ।
अञ्जीर स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिने सुख्खा फल हो । बिहान खाली पेटमा अञ्जीर पानी पिउनु शरीरको लागि वरदान भएको आयुर्वेदिक एक्सपर्ट भन्छन् । रातभर पानीमा भिजाएर बिहान यही पानी सेवन गर्दा यसको फाइदा अझ बढी हुन्छ । आजको यस लेखमा हामी अञ्जीर पानी पिउँदाका फाइदा र यो पानी बनाउने उचित तरिकाबारे कुराकानी गर्नेछौँ ।
किन पिउनु पर्छ अञ्जीर पानी ?
१. पाचन प्रणालीलाई बलियो बनाउन
अञ्जीरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा गर्न मद्दत गर्छ । बिहान खाली पेटमा पिउँदा पेट सँगसम्बन्धी समस्या बिस्तारै बिस्तारै कम हुँदै जान्छन् ।
२. तौल घटाउन
मोटोपनबाट दिक्क भएका व्यक्तिहरूको लागि अञ्जीर पानी लाभदायक हुन सक्छ। यसलाई पिउनाले पेट लामो समयसम्म भरिएको महसुस हुन्छ । जसका कारण जतिबेला पनि खाइरहने इच्छा कम हुन्छ । यसले शरीरको मेटाबोलिजमलाई पनि गति दिन्छ, जसले बोसो छिटो जलाउन मद्दत गर्छ ।
३ .उच्च रक्तचाप
रक्तचाप बढ्नु मुटुको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । अञ्जीरमा उच्च मात्रामा पोटासियम पाइन्छ । यसले शरीरमा सोडियमको प्रभावलाई कम गर्छ र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
४. मधुमेहको लागि
अञ्जीरको पानीले रगतमा चिनीको मात्रा अचानक बढ्नबाट रोक्छ । यद्यपि, मधुमेहका रोगीले यसलाई पिउनु अघि आफ्नो डाक्टरसँग परामर्श गर्नु भने आवश्यक छ ।
५. रोग प्रतिरोधात्मक क्षमता बढाउन
अञ्जीर पानीमा भिटामिन र खनिजहरू हुन्छन् जसले शरीरको शक्ति बढाउँछ र रोगसँग लड्न मद्दत गर्न सक्छ ।
६. छाला चम्किलो बनाउन
अञ्जीरको पानीमा रहेको एन्टिअक्सिडेन्टले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ, अनुहारलाई प्राकृतिक चमक दिन्छ र दागहरू कम गर्छ ।
कसरी बनाउने अञ्जीर पानी ?
राति सुत्नु अघि एक गिलास सफा पानीमा दुईवटा सुकेको अञ्जीरलाई भिजाउनुहोस् ।
रातभरि पानीमा भिजेर अञ्जीर नरम हुनेछ र आफ्ना गुणहरू पनि पानीमा छोड्छ ।
भोलिपल्ट बिहान, खाली पेटमा यही पानीलाई छानेर सबैभन्दा पहिले पानी पिउनुहोस् ।
मन पर्छ भनेर भिजेर नरम भएको अञ्जीरलाई तपाईँ चपाएर पनि खान सक्नुहुन्छ ।














