कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम कला, संस्कृति, सभ्यता र परम्पराको भण्डार रहेको बताएका छन् ।
सिसिएस धनगढीको आयोजनामा भएको ‘सुदूर संस्कृति उत्सव’लाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिमको मौलिकता र विविधतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको बताए । उनले सांस्कृतिक कार्यक्रममार्फत प्रदेशको पहिचानलाई देश–विदेशसम्म पु¥याउन सकिने धारणा व्यक्त गरेका थिए ।
‘सुदूरपश्चिम प्रदेश कला र संस्कृतिको भण्डार हो । यहाँको कला, संस्कृति, सभ्यता र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन आवश्यक छ, ’ उनले भने, ‘यस्ता सांस्कृतिक कार्यक्रमले प्रदेशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्छन् । ’
प्रदेश प्रमुख मियाँले सुदूरपश्चिमलाई ‘सुन्दरपश्चिम’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै यहाँको जल, जंगल र जडीबुटीमा समृद्धिको ठूलो सम्भावना रहेको बताए । उनले प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले समेत महत्वपूर्ण रहेको बताए ।
उनले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई सुदूरपश्चिमको महत्व, इतिहास र मौलिक संस्कृतिबारे जानकारी गराउनुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्न सके मात्रै यसको संरक्षण र पुस्तान्तरण सम्भव हुने उनको भनाइ थियो ।
सिसिएसका अध्यक्ष हरि रेग्मीले सुदूरपश्चिमको पहिचान जोगाउनु आजको आवश्यकता रहेको बताए । समाज रूपान्तरण र सशक्तीकरणका लागि कला, साहित्य तथा संस्कृतिको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । प्रदेशलाई सम्भावनाको प्रदेशका रूपमा अघि बढाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उनले बताए ।
प्रदेशको कला, संस्कृति, धर्म र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले आयोजना गरिएको उत्सवमा सुदूरपश्चिमका मौलिक देउडा, गौरा लगायतका सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो ।
कार्यक्रममा सिसिएसका विद्यार्थीहरूले आफैं तयार गरेका सुदूरपश्चिमका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरेका थिए । प्रदेश प्रमुख मियाँले विद्यार्थीहरूले तयार गरेका परिकार राखिएका स्टलमा पुगेर स्थानीय परिकारबारे जानकारी लिएका थिए । उत्सवमा सुदूरपश्चिमका मौलिक बाजागाजाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिमको कला, संस्कृति र विविधताको व्यापक प्रचार–प्रसार गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउनुपर्नेमा जोड दिएका थिए ।














