धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गौरा पर्व मौलिक संस्कृति, परम्परा,आस्था र पहिचानसँग जोडिएको विशिष्ट पर्व भएको बताएका छन् ।
सुदूरपश्चिमेलीहरुको महान सांस्कृतिक गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले एकता,भाइचारा र सामाजिक सहिष्णुतालाई अझ सुदृढ बनाउँदै आएको बताए ।
उनले शुभकामना सन्देशमा भनेका छन्,-“विविधताबीचको एकता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा गौरा पर्वको महत्वपूर्ण योगदान रहेको छ ।”
मुख्यमन्त्री भट्टले गौरा पर्वको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमबासीलाई शुभकामना व्यक्त गरेका छन् ।
“श्रीकृष्ण जन्माष्टमीले सत्य, धर्म, न्याय, प्रेम र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछ”, उनले भनेका छन् “यी पावन पर्वहरूले सम्पूर्ण सुदूरपश्चिमेलीहरूबीच एकताको भावना अझ प्रगाढ बनाउँदै समृद्ध सुदूरपश्चिम निर्माण गर्ने प्रेरणा प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछु ।”














