धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको छ ।
बाढीपछि लामो समयसम्म सम्पर्कमा नआएका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए नमूना संकलन थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार हालसम्म सुदूरपश्चिममा १४ जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ । कञ्चनपुर र कैलालीका ६–६ तथा डडेल्धुराका दुई जनाको नमूना संकलन गरिएको उनले जानकारी दिए ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सुदूरपश्चिमका २०९ जना बेपत्ता भएका थिए । तीमध्ये ५९ जना सम्पर्कमा आइसकेका छन् ।
प्रवक्ता विष्टका अनुसार कैलालीका ४६, कञ्चनपुरका १०, बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका छन् ।
अझै सुदूरपश्चिमका विभिन्न जिल्लाका १५० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरका ३६, डडेल्धुरा र बाजुराका १६–१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, बझाङ र अछामका दुई–दुई जना रहेका छन् ।














