धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार, घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी तथा नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताएका छन् । युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि आन्दोलनमा ‘संदिग्ध तत्व’हरूले घुसपैठ गरी हिंसात्मक बनाएको उनको आरोप छ।
प्रचण्डले आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट र तोडफोडलाई गम्भीर घटनाका रूपमा उल्लेख गरेका छन् ।
उनका अनुसार युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन। उनले भदौ २४ गतेको घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गरेका छन् ।
प्रचण्डले जेनजी आन्दोलनका नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि भएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएदेखि नै आफ्नो पार्टी अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट रहेको उनको दाबी छ।
उनले घटनाबारे ‘को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा विध्वंस कसले मच्चायो र त्यसबाट लाभ कसले उठायो’ भन्नेलगायतका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पनि उनले जोड दिएका छन् । आयोगको प्रतिवेदनलाई दराजमा थन्क्याउने नभई त्यसमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरका मुद्दा अझै सम्बोधन हुन नसकेको दाबी गरेका छन् । महँगी वृद्धि, अर्थतन्त्रको शिथिलता, रोजगारीको अभाव, युवाको बढ्दो विदेश पलायन, सार्वजनिक ऋण वृद्धि तथा करको बोझलगायतका विषयले नागरिकमा पुनः निराशा पैदा गरेको उनको भनाइ छ।
यसैबीच सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ताजस्ता उपलब्धि कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने बताएका छन् ।
साथै उनले जनताको संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश तथा जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन अपिल गरेका छन् ।














