बझाङ । प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए ।
महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए ।
करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्न सके बझाङलाई भारतलगायतका मुलुकसँग जोड्ने महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
युवालाई स्थानीय स्तरमै रोजगारी र व्यवसाय गर्ने वातावरण बनाउन व्यावसायिक कृषिमा जोड दिनुपर्ने महरले बताए । विशेषगरी ओखर र टिमुर खेतीको प्रवर्द्धन गरी युवालाई कृषितर्फ आकर्षित गर्नुपर्ने उनले बताए ।
सभाका विशिष्ट अतिथि पूर्वमन्त्री अर्जुनबहादुर सिंहले बझाङको साझा हितका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति बझाङका संयोजक नरबहादुर बोहराले विकास र सुशासनका लागि सबै पक्ष एकजुट हुनुपर्ने तथा जनप्रतिनिधिले जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।














