धनगढी । कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइनेछ । स्वास्थ्य कार्यालयका अनुसार धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । लक्षित जनसंख्यामध्ये १ लाख ३८९ जना महिला छन् ।
अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तह र स्वास्थ्य संस्थामार्फत खोप लगाउने गरी आवश्यक तयारी भइरहेको कार्यालयले जनाएको छ ।
सन् २०२६ को सुरुवातयता घोडाघोडीमा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ भने धनगढी र लम्कीचुहामा तीन/तीन जना संक्रमित रहेको प्रमुख कुँवरले बताए ।
जेई के हो ?
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए ।
‘यो जनावर र लामखुट्टेबीचको रोग हो । संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्कमा गम्भीर समस्या ल्याउन सक्छ,’ उनले भने ।
उनका अनुसार जेई मानिसबाट मानिसमा सर्दैन । संक्रमित सबैमा लक्षण देखिँदैन । तर, लक्षण देखिएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता समस्या देखिन सक्छन् ।
रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुँवरले बताए । घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने र पूरा बाहुला भएका कपडा लगाउन उनले सुझाव दिए ।
सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग जेई सम्बन्धित हुने भएकाले यस्ता पशुपन्छी बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए ।
जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने र संक्रमण भए–नभएको यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने कुँवरले जानकारी दिए ।














