कैलाली । कैलालीमा भन्सार छली गरी ल्याइएका सामानसहित तीन जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिका-१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा बिहीबार दिउँसो प्रहरीले शंका लागेर अटो चेकजाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सर्ट फेला परेका हो ।
सुदूरपश्चिम प्रदेश ००१ ह ४२५३ नम्बरको अटोमा करिब २ लाख ४७ हजार १७५ रुपैयाँ बराबरका साना-ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटो चालक जानकी गाउँपालिका-५ बस्ने ३५ वर्षीय विपतराम चौधरी तथा अटोमा सवार टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षीय रामबहादुर टमटा र ४९ वर्षीय प्रकाश कुँवर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको जनाएको छ ।























