धनगढी । कैलाली र कञ्चनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित छ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार दिउँसो भजनी नगरपालिका-३ पडरियास्थित अन्दाजी २८ वर्षीय हरिप्रसाद डगौराको घरमा खानतलासी गर्दा ७७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो । उक्त पदार्थसहित डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका-७ मनेहरामा बिहीबार साँझ चेकजाँचका क्रममा वडा नं १२ पुरानो शिविरका १८ वर्षीय किशोरलाई ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारमा बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका कैलालीको गोदावरी नगरपालिका-५ गेटाका अन्दाजी १९ वर्षीय कुशल बिष्टसहित चार जनालाई ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।























