धनगढी । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ घरनजिकै बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथमाथि सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।
टाउकोमा ढुङ्गा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा गएराति उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भनिएका भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























