धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका-१ राजीपुरबाट ३ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित २४ वर्षीय प्रकाश चौधरी पक्राउ परेका छन् ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट १७७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ का ३४ वर्षीय राजु विष्ट रहेका छन् । उनीहरू सवार से ५ प ४३१३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, लम्कीचुहा नगरपालिका-४ कौवापुरबाट १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय पूर्णबहादुर चन्द र २४ वर्षीय शंकर देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























