डडेल्धुरा- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको उनले दाबी गरेकी छन्।
डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन्।
उनले देउवाले आफूले भनेको कुरा गरेरै छोड्ने र जथाभावी नबोल्ने प्रतिक्रिया दिइन्। ‘देउवाले जे गर्छु भन्नु भएको छ, त्यो गर्नु भएको छ। सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला यहाँका मान्छेले बोलेको सुन्दा पनि अनौठो लाग्थ्यो। पूर्वका मान्छे जसरी मिलाएर नबोल्ने’, राणाले भनिन्।
उनले शेरबहादुर देउवालाई दाइ र राजनीतिक गुरु मान्नेहरू ठूल्ठूला ओहदामा पुगेको बताएकी हुन्। ‘गोविन्द बोहराजी मन्त्री हुनुभयो। नैनसिंह महर नेविसंघका अध्यक्ष हुनुभयो। उहाँकै कारण मैले पनि संविधान लेख्ने अवसर पाएँ। अरू पनि उहाँ ९शेरबहादुर०लाई दाइ, राजनीतिक गुरु भन्नेहरू ठूल्ठूलो ओहदामा पुग्नुभएको छ,’ उनले भनिन्।
उनले भनिन्, ‘ देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो।’ उनले डडेल्धुराका नागरिकले नै आफूलाई हेलिकप्टर चढ्ने हैसियतमा पुर्याएको दाबी गर्दै भनिन्, ‘यहाँकै कारणले देउवाजी ५ पटक प्रधानमन्त्री र ६ पटक सांसद हुनु भएको हो।’













