धनगढी- नेपाली कांग्रेस कैलालीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पाँच दलीय सतारुढ गठबन्धनका उम्मेदवारविरुद्व अन्य पार्टी प्रवेश गरेर उम्मेदवार बनेका आठ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी परित्याग गरेर उम्मेदवार बनेकाहरुलाई पार्टीबाट निस्कासन गरेको जनाएको हो । सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार पार्टीका महासमिति सदस्यसमेत रहेका कैलाली क्षेत्र नम्बर २ लम्कीचुहा नगरपालिका–४ का अरुणकुमार चौधरी र क्षेत्र नम्बर १ टीकापुर–२ का देबेन्द्रसिंह नेपाली र महाधिवेशन प्रतिनिधिसमेत रहेका क्षेत्र नम्बर २ जानकी गाँउपालिका–५ का प्रदिपकुमार चौधरीलाई कारबाही गरेको छ ।
त्यसैगरि क्षेत्रीय प्रतिनिधि क्षेत्र नम्बर २ लम्कीचुहा–२ का नेत्रप्रसाद जोशी, मोहन्याल गाउँपालिका–६ का जिरा भुल, लम्कीचुहाका–३ का भक्त चलाउने, जानकी गाउँपालिका–९ का नरबहादुर कुमाल र नेपाल दलित संघका पूर्व जिल्ला सदस्यसमेत रहेका जानकी गाँउपालिका–२ का उदयसिंह भुललाई पनि कारबाही गरिएको छ । उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरेर पाँच सर्वसम्मका लागि कारबाही गरिएको जनाइएको छ । कारबाही गरिएका आठ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।
साथै पार्टी परित्याग गरि उनीहरुका प्रस्ताव समर्थक रहेकाहरुलाई पनि कारबाही गर्दै निस्कासित गरिएको कैलाली कांग्रेसले जनाएको छ ।














