काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले हिजो छलफल गरेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिन लागेका हुन्।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए। पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।














