धनगढी– सुदूरपश्चिमका दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको पाइएको छ । ७०औं विश्व कुष्ठरोग दिवसको अवसरमा शनिबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कुष्ठरोग निवारण हुन बाँकी रहेका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमका कैलाली र अछाम हुन् । सरकारले १३ वर्ष अघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरेको भएपनि विरामीहरु शून्यको अवस्थामा पुर्याउन नसकिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताए । उनले कैलाली र अछाममा कुष्ठरोग समस्याका रुपमा देखिएको छ र अन्य सात जिल्लामा निवारण भएपनि निर्मुल हुन नसकेको बताए ।
उनका अनुसार प्रति १० हजार जनसंख्यामा १ भन्दा कम विरामी हुनुलाई नै निवारण मानिन्छ । सो मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भएपनि विरामीको संख्या २०५ छ । विरामीहरु अझै उपचारको दायरामा आउन नसकेकै कारण विरामीको संख्या घट्न नसकेको निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत ओझाले बताए ।
देशका लुम्बिनी र मधेश प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगीको संख्या सुदूरपश्चिममा छ । निवारको दर भन्दा माथि विरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा २५ जना विरामी देखिएका छन् । निवारण दर भन्दा कम विरामी भएको कञ्चनपुरमा पनि विरामीको संख्या ३२ छ । प्रदेशभर यसै वर्षको ६ महिनाको अवधिमा मात्रै ७२ जना नयाँ विरामी देखा परेका छन् । तर कुष्ठरोग निवारणका लागि सरकारी तवरबाट काम भइरहेको क्षय–कुष्ठरोग अधिकृत ओझाको दाबी छ ।
कुष्ठरोग निवारण नभएका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमको एक जिल्ला अछाम मात्रै पहाडी क्षेत्रमा पर्छ । यसले तराई क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि कुष्ठरोगका विरामीहरुको खोजपड्ताल गर्नुपर्ने नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति सीताराम जोशीले बताए । खोजपड्तालका नाममा खोजपड्ताल भइरहेको नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति जोशीको आरोप छ ।
पहाड र हिमाली जिल्लाका दुरदराजका क्षेत्रमा अझै पनि कुष्ठरोग लागेका व्यक्तिलाई हेरिने नजरमा सुधार आउन सकेको छैन । कतिपयले थाहा पाएर होस् वा नपाएर कुष्ठरोगलाई लुकाएर राख्ने गरेको पाइन्छ । यसका लागि जनचेतामुलक कार्यक्रम सञ्चालन गरि रोग निवारणमा कदम चाल्नुपर्ने सरोकारवालाको सुझाव छ । देशभर रोग निवारण हुन बाँकी रहेका सुदूरपश्चिमका कैलाली र अछामसहित झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके र बर्दिया छन् । भोलि २९ जनवरीमा विश्वभर कुष्ठरोग दिवस मनाइँदैछ ।













