काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयबाट भएको यस्तो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन्।
न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले उक्त आदेश दिएको थियो।
उक्त रिट विस्तृत शान्ति सम्झौताविपरीत भएको उल्लेख गर्दै प्रतिगमनकारी प्रवृत्ति सलबलाएको उनको बुझाइ छ। उनले बाह्रबुँदे समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तरराष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन्।
जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डमाथि ५ हजारको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट लगेका छन्।















