काठमाडौं– धनगढी उपमहानगरपालिकामा स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब नपाएको विषय संसदमा पुगेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले सो कुरा उठाएका हुन्। उनले तलब नपाएका ५४ जना स्वास्थ्यका स्थायी कर्मचारीहरुलाई तत्काल तलब उपलब्ध गराउन माग गरे।
केसीले भने, ‘संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ ? कि खटाउनेले तलब खाएर नदिइएको हो ?’
असोज महिनादेखिको तलब भत्ता नपाएपछि कर्मचारीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्। कर्मचारी कार्यालय परिषरमै चार दिनदेखि धर्नामा बसेका छन् ।













