कञ्चनपुर- कोरोना संक्रमण बढ्दै गएपछि बुस्टर खोप दिने क्रम पनि सुरु भएको छ । अहिले ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरका अनुसार अहिले बुस्टर डोजका लागि फाइजरको ५० हजार मात्रा आएको छ । पहिलो चरणमा ५५ वर्षमाथिका व्यक्ति, स्वास्थ्यकर्मी लगायतलाई खोप दिइनेछ । जिल्लाका सबै वडामा खोप अभियान सञ्चालन भइरहेको कुँवरले बताए ।
पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा सक्रमण देखिन थालेको छ । कञ्चनपुरको सीमानाका गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा ६ जनामा संक्रमण देखिएको छ ।
हेल्थ डेस्कका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हेल्थ डेस्ककी इन्चार्ज प्रीति बोहराले बताइन् । उनका अनुसार बिहीबार र शुक्रबार मात्रै नाकामा घर फर्किनेमा संक्रमण देखिएको छैन ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ४ लाख बढी छ । दोस्रो मात्रा लगाउनेको संख्या ३ लाख बढी छ । बुस्टर डोजका रूपमा तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख पुगेको छ । पहिलो र दोस्रो मात्राको खोप लगाउनेको संख्या ८५ प्रतिशतभन्दा बढी भए पनि बुस्टर डोज लगाउनेको संख्या ४८ प्रतिशत मात्रै छ ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरका बेला खोप लगाउनेको संख्या धेरै थियो । सुरुमा खोप लगाउन कम आए पनि दोस्रो लहरका बेला संक्रमणकै कारण धेरैको ज्यान गएपछि खोप लगाउनेको संख्या बढेको थियो ।














