धनगढी– कैलालीको गोदावरी नगरपालिका–३ स्थित मालाखेती अस्पतालमा सुत्केरी र शिशुको शव आफन्तले अझै उठाएका छैनन् । घटना भएको तीन दिन भइसक्दा पनि अस्पताल र आफन्तबीच सहमति नभएपछि अथानीयले आज नगरपालिका घेराउ गरेका छन् ।
जनतालाई दुख पर्दा स्थानीय सरकारले दिनुपर्ने अभिभावकको भुमिका नपाउदा नगरपालिकामा धर्ना दिन आएको स्थानीय नरबहादुर रावतले बताए । उनले मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको समेत आरोप लगाए ।
उनले मृतकको बच्चाको उज्ज्वल भविष्यको ग्यारेन्टी नभएसम्म शव नउठाइने बताए । उनले मालाखेतीमा अस्पतालको लापरबाहीका कारण कसैले पनि आगामी दिनमा ज्यान गुमाउने छैनन भन्ने प्रतिबद्धता समेत स्थानिय सरकारले दिनुपर्ने बताए ।
उनका अनुसार छानविन समितिले बुधबार सम्ममा निर्णय पेश गर्ने भनेको भएपनि अन्तिममा आएर एक हप्ता लाग्छ भन्न थालेको बताए । घट्नाको सत्यतथ्य वाहिर ल्याउनका लागि धनगढीको सेती अस्पताल मा कार्यरत स्त्री तथा प्रसुती विशेषज्ञ डा. जगदिश बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ ।
समितिमा पीडितको पक्षबाट पनि एक जना प्रतिनिधि राखिएको छ । समितिले घटनाको अध्यन गरि सत्य तथ्य बाहिर ल्याउने सहमति भएको छ । समितिले जिल्ला प्रसासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिबराज जोशी पनि सदस्य छन् ।
आइतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो ।













