काठमाडौँ-नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको मर्यादाक्रम निर्धारण सम्बन्धि प्रस्ताव संशोधन माग गरेका छन् । मंगलबारको बैठकमा सहमहामन्त्री तथा मर्यादाक्रम निर्धारण समितिका संयोजक बद्री पाण्डेले राखेको प्रस्ताव संशोधन गरिनुपर्ने उनको भनाइ छ ।
भण्डारीले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै मानमर्दन हुने यस्तो अपरिपक्व र पूर्वाग्रही मर्यादाक्रम संशोधन गर्न आग्रह गरे । पार्टीले बिना छलफल तयार पारेको भन्दै निकटतम प्रतिद्वन्द्वीलाई मर्यादाक्रममा सम्मान नदिने कुरा राम्रो नभएको उनको भनाइ छ ।
भण्डारीले देशभरको चुनावका निकटतम प्रतिद्वन्द्वीको सम्मानको लडाइले ७ प्रदेश, ७७ जिल्ला, क्षेत्र, नगर, गाउँ र वडासम्म बिवाद बढ्नेबारे सभापति देउवाको ध्यानाकर्षण गराए । मर्यादाक्रमको विवाद बढ्दा संघ र प्रदेश निर्वाचनमा असर पर्न सक्नेबारे नेतृत्वले दूरदर्शिताका साथ आत्म चिन्तन गरेर विधिसम्मत, एकीकृत ढङ्गले निर्णय लिएर अगाडि बढ्नुपर्ने उनले बताए ।
भण्डारीले पार्टीका जिल्ला सभापतिलाई प्रदेश उपसभापति र महामन्त्रीभन्दा तलका पदाधिकारीको मातहत राख्न नमिल्ने तर्क गरे ।’मनोनीत प्रवक्ता पनि पदाधिकारी हुन्छ । अब जिल्ला सभापति प्रदेश प्रवक्ताभन्दा तल राखेर पार्टी संचालन संभव छ ?,’ उनको प्रश्न छ ।
भण्डारीले आमन्त्रित केन्द्रीय सदस्य भन्दा तल निर्वाचित प्रदेश मुख्यमन्त्री, संघीय मन्त्रीदेखि पूर्व उपप्रधानमन्त्रीलाई राख्दा ती पदको बेइज्जत हुने बताए । भण्डारीले प्रदेश कार्यसमिति सदस्यको मुनी महानगरको मेयर, महासमिति सदस्यहरु र भातृ संस्थाको केन्द्रीय अध्यक्षको मर्यादाक्रम पालना नभई विवाद निम्तिने देखिएको बताए ।
केन्द्रीय विभाग पदाधिकारी र सदस्यलाई धेरै तल राखेर विभागलाई आकर्षण विहीन पार्ने नहुने उनको भनाइ छ । भण्डारीले महानगर, उपमहानगर र नगर सभापतिलाई क्षेत्रीय पदाधिकारीभन्दा तल राख्दा मर्यादाको पालना गर्न नगरमा निकै गाह्रो हुने बताए ।
भण्डारीले पार्टी विधानले व्यवस्था गरेको तहगत संरचना, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेको बताए पनि व्यवहारिक रूपमा पालना नहुने बताए ।













