बैतडी- बैतडीको मेलौलीमा दुर्घटना भएको बसमा ४२ जना सवार रहेको पुष्टि भएको छ । सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको प्रवक्ता खत्रीले जानकारी दिए । प्रवक्ता खत्रीका अनुसार घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ भने १६ जनाको अवस्था मध्यम छ । घाइते सबैलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए । घाइतेहरुको पहिचान हुन भने बाँकी छ ।
पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ ।














