कञ्चनपुर- कञ्चनपुरमा खाद्य कम्पनीलाई धान बेच्न सम्बन्धित वडाको सिफारिसपत्र अनिवार्य गरिएको छ । तर, भीमदत्त नगरपालिकाका केही वडाले सिफारिसका लागि एक सय १० रुपैयाँसम्म शुल्क लिइरहेको छ । धान बिक्री गर्न वडाबाट सिफारिसका लागि भीमदत्त नगरपालिका–१० ले एक सय १० रुपैयाँ शुल्क लिएको सुकासालका किसान उर्वादत्त जोशीले बताए ।
भीमदत्त–७ हल्दुखालका किसान उत्तम बोहराले आफूले उत्पादन गरेका धान खाद्य कम्पनीलाई बेच्न वडाबाट सिफारिस लिनुपर्ने झन्झटिलो व्यवस्था रहेको र शुल्क तिनुपर्ने बाध्यता राखेर किसानलाई मारमा पारेको बताए । हल्दुखालकै अर्का किसान नारायण केसीले किसानलाई सुविधा दिनुको साटो स्थानीय सरकारले सिफारिसकै शुल्क तोकेर मारमा पार्ने काम गरेको बताए ।
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खडकाले भने आर्थिक ऐन अनुसार साधारण सिफारिस बाफत शुल्क लिइएको बताए । खाद्य व्यवस्था शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजु मोक्तानले धान बिक्रीका लागि आफू किसान भएको प्रमाणित गर्न सम्बन्धित वडाबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताए । ‘वास्तविक किसानले धानको मूल्य पाऊन् भनेर सिफारिससहित कागजात मागेका हौँ,’ उनले भने ।
खाद्यको महेन्द्रनगर शाखाले बुधबारदेखि धान खरिद गर्न सुरु गरेको हो । १५ हजार क्विन्टल खरिदको लक्ष्य रहेकामा बुधबार १६ जना किसानको धान खाद्यले किनेको छ । एकजना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गरिने उनले बताए ।













