बैतडी- कीर्तिमानी जित निकाल्दै निङलाशैनी क्रिकेट क्लब९एनसीसी०, बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब,दुर्गा भवानीलाई ५१५ रनले पराजित गर्यो ।
बिडिसिए इतिहासमै एनसीसीको यो ठुलो रन अन्तरको जित हो। एनसीसीले दिएको ५८८ रनको लक्ष्य पछ्याएको महामाया १५.१ ओभरमा ७२ रनमा समेटियो । उसका जयबहादुर टोक्टरेले १६ र यज्ञराज भट्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । महामायाको पारी ध्वस्त पार्ने क्रममा एनसीसीका हिम्मत सिंह महराले ३ तथा सन्तोष विजले,समीर बोहरा र कप्तान ऋषीकेश बोहराले २र२ विकेट हात पारे।
त्यसअघि दशरथ चन्द क्रिकेट मैदान,सुन्दर खालिमा टस जितेर महामायाले एनसीसीलाई ब्याटिङको निम्ता दिएको थियो।पहिला ब्याटिङ गरेको एनसीसीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ५८७ रन बनायो। जुन बिडिसिए इतिहासमै उच्च स्कोर हो। जसमा खडक बोहराले कीर्तिमानी दोहोरो शतक हिर्काए।म्यान अफ द म्याच चुनिएका खडकले
१४५ बलको सामना गर्दै ३५ चौका र ७ छक्काको मद्दतमा २४२ रन बनाए। खडक बिडिसिएमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन्। हालसम्म कुनै पनि ब्याटरले दोहोरो शतक प्रहार गर्न सकेका छैनन् । यस्तै गजेन्द्र बोहराले १३८ रनको शतकीय पारी खेले । उनले ७९ बलमा २१ चौका र ३ छक्का हिर्काए।
खडक र गजेन्द्रबिच २७३ रनको कीर्तिमानी साझेदारी पनि भयो। महामायाका लागि दिनेश रावतले ३ र जयबहादुर टोक्टरेले १ विकेट हात पारे। लगातार दोस्रो जित हात पार्दै एनसीसी सेमिफाइनल पुग्दा महामाया प्रतियोगिताबाट बाहिरिएको स्कोरर नरेन्द्र चन्दले बताए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १६ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए । यो वर्ष बिडिसिए कप वान डे फर्म्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ। विगत वर्षहरूमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्ध राज बोगटीले बताए ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।यसअघि १९ औँ संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।














