काठमाडौं- एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ। यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो।














