धनगढी- कैलालीको धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले सेवा विस्तारमा जोड दिएको छ । पछिल्लो समय चिकित्सालयले विभिन्न स्वास्थ्य सेवा विस्तार गर्दै लगेको हो ।
गत वर्षको असोज ११ गतेबाट ओपिडी, एक्सरे, प्याथोलोजी, पूर्वकर्म÷पञ्चकर्म सेवा सञ्चालन गरेको आयुर्वेद चिकित्सालयले क्षारसुत्र सेवा सुरु गरेको प्रादेशिक आयुर्वेद चिकित्सालयका बैद्य निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए । ‘पञ्चकर्म सेवा विस्तृतरुपमा सञ्चालनमा रहेको छ । अन्य सेवा पनि विस्तार गर्दै लगेका छौँ ।’ उनले भने,‘यही माघ १२ गतेबाट क्षारसुत्र सेवा सुरु गरेका छौँ । आइपीडी सेवा पनि सुरु गरिएको छ ।’
‘क्षारसुत्र सेवा सुरु भएसँगै पाइल्स,फिस्टुला,फिसरका बिरामीलाई सहज भएको छ ।’ उनले,‘शैल्यक्रियाका लागि यहाँका बिरामीले निजी अस्पताल तथा भारत जानुपर्ने,महंगो शुल्क तिर्नुपर्ने अवस्था थियो । अब यही अन्तभन्दा सस्तो शुल्कमा शैल्यक्रिया हुन्छ ।’ निकट भविष्यमै अकुपञ्चर सेवा सुरु गरिने चिकित्सालयका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.सुर्य उपाध्यायले बताए । ‘हामीले सेवा विस्तार गर्दै लगिरहेका छौँ ।’ उनले,‘छिट्टैनै अकुपञ्चर सेवा सुरु गर्ने गरि अगाडि बढेका छौँ ।’
‘सेवा विस्तारसँगै आयुर्वेदिक औषधी उत्पादनका लागि पनि हामीले पहल गरिरहेका छौँ ।’ उनले भने,‘औषधी उत्पादनका लागि मेसिन खरिद प्रकृयामा लागेका छौँ । यसै आव भित्रै औषधी उत्पादन पनि सुरु गर्ने योजनामा छौँ । आफैले उत्पादन गर्दा औषधी पनि सस्तो हुन्छ ।’ नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि निःशुल्क पाइने गरेको,ओपिडी टिकट, एक्सरे, ल्यावलगायतका सेवाकोे न्युनतम शुल्क लिने गरेको तथा अपाङ्गता भएका र जेष्ठ नागरिकालाई पूर्ण निःशुल्क सेवा दिने गरेको चिकित्सालयले जनाइएको छ । चिकित्सालयमा हाल ४ जना आयुर्वेदिक चिकित्सक,४ जना नर्सिङ स्टाफ,७ जना आयुर्वेद कविराज र बैद्य तथा १ जना रेडियो ग्राफरले सेवा दिइरहेको उनले बताए ।
बिरामीको आकर्षण बढ्दै
पछिल्लो समय आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको सूचना अधिकारी शाहीले बताए । नसर्ने रोगका बिरामीका लागि औषधीदेखि लिएर दिनचर्या,ऋतुचर्या,जीवनशैली सम्बन्धि परामर्श सेवा पनि हुने भएकाले चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको उनले बताए ।
‘उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको छ । अन्य औषधीभन्दा आयुर्वेदिक औषधीको साइड इफेक्ट कम हुन्छ । यसले पनि बिरामीको सङ्ख्या बढेको हो ।’ उनले भने,‘अन्य उपचार पद्धतिभन्दा आयुर्वेदिक उपचार कम खर्चिलो पनि हुन्छ ।’ चिकित्सालयमा बाथ,अम्लपित्त,पाइल्स,फिष्टुला,पेटको रोगका बिरामी बढी आउने गरेको सूचना अधिकारी शाहीले भनाइ थियो ।
पछिल्लो छ महिना अर्थात पुस मसान्तसम्मको अवधीमा ५ हजार ४ सय ३१ जना महिला र ४ हजार २ सय ५५ जना पुरुष गरि ९ हजार ६ सय ८६ जना बिरामीले विभिन्न रोगको उपचार सेवा लिएको उनले बताए । गत वर्ष चिकित्सालबाट २७ हजार ६ सय ७४ जना बिरामीले उपचार सेवा लिएको चिकित्सालयको तथ्यांक छ ।
आयुर्वेदिक उपचारबाट बिरामी सञ्चो हुँदै गएको त्यहाँ उपचाररत बिरामी बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की ४६ वर्षीय भोगमति रानाले घुँडा दुख्ने समस्या भएर अस्पताल आएको बताउँदै अहिले सञ्चो हुँदै गएको बताइन् । उनले भनिन् ‘मेरो चार महिना अगाडि घुँडा दुख्ने समस्या भएर यहाँ उपचारमा आएकी हुँ । अहिले थेरापी(जानुबस्ती) गरिरहेको छु राम्रो हुँदै गएको छ । पहिले खुट्टा खुम्चाउन गाह्रो हुन्थ्यो । अहिले राम्रो हुँदै गएको छ ।’
त्यस्तै सोही ठाउँकै ६२ वर्षीय शंकरबहादुर बिष्टले घुँडा दुख्ने समस्या भएर उपचारमा आएको र यहाँ उपचार गर्दा ठीक हुँदै गएको बताए । उनले भन,े ‘छ महिना अगाडि घुँडा दुख्न सुरु भएको हो । पहिले औषधी खाएको थिए ठीक भएन् । यहाँ उपचार गर्दा ठीक हुँदै गएको छ । धेरै सुधार भएको छ । अहिले खुट्टा खुम्चाउँदा दुख्दैन् ।’














