धनगढी- क्याम्पस स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा अन्तर क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा संचालन हुने भएको हो । जय नेपाल कप २०८० को विजेताले नगद रु तीन लाख पाउने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै उप विजेतालाई नगद रु १ लाख प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार,बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई जनही १५ हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई २ हजार प्रदान गरिने छ । टि-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ वटा टिमहरूको सहभागिता रहेको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पस,टिकापुर बहुमुखी क्याम्पस,महाकाली बहुमुखी क्याम्पस,त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस,दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसको सहभागिता रहेको छ ।
जय नेपाल कप २०८० को भोलि फागुन २८ गते विहान ९ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने बताइएको छ । ऐश्वर्य बहुमुखी क्याम्पस र टिकापुर बहुमुखी क्याम्पस वीच उद्घाटन खेल हुने छ । चैत्र २ गते प्रतियोगिताको फाइनल खेल सम्पन्न गरिने बताइएको छ ।
जय नेपाल कप २०८० मा खेलाडीहरुको हौसला बढाउन धनगढीको सहिद गेट नजिक रहेको डुब्का थकाली रेष्टुरेण्टले आर्कषक अफर घोषणा गरेको छ । प्रतियोगितामा अर्धशतक प्रहार गर्ने खेलाडीलाई परिवार सहित डिनर,छक्का क्याच गर्ने दर्शकलाई प्रत्येक क्याचमा एक पिलेट मम,५ विकेट भन्दा बढि लिने खेलाडी,ह्याट्रिक गर्ने खेलाडीलाई पनि डिनर र विजेता टिमलाई पनि डिनर गराउने डुब्का थकालीका संचालकले जानकारी दिएका छन् ।














