धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलकी चेरिया चौधरीका दुबै मृगौला खराब भएका छन् । उमेरले ४३ वर्षीया चेरियाका दुबै मृगौला खराब हुँदा उपचारमा समस्या हुन थालेको परिवारले जनाएको छ ।
हाल हप्तामा दुईपटक उनको सेती प्रादेशिक अस्पतालमा निःशुल्क डायलासिस भइरहेको बताउँदै चेरियाका श्रीमान पतिराम चौधरीले मृगौला रोगका बिरामीले खानु पर्ने औषधी किन्न समस्या भएको बताए । उनले भने ‘मृगौलामा समस्या भएको करिब दुईबर्ष बढी भयो । उपचारमा झण्डै १५ देखि २० लाख खर्च भइसकेको छ । पहिले त छरछिमेकीसँग ऋण मागेर उपचार गरेको थिए । अब त ऋण माग्ने ठाउँ पनि बाँकी रहेन कहाँ बाट उपचार गर्ने समस्या भएको छ ।’
पतिरामले भने ‘हप्तामा ७/८ हजारको औषधी किन्नुपर्छ । आफू कतै गएर काम गरौँ भने पनि जान मिल्दैन कति खेर अस्पताल लैजानु पर्छ थाहै हुँदैन् । बिरामी छोडेर यताउता जान मिलेन । कहिले काठमाण्डौँ लगेर उपचार गर्नु पर्ने हुन्छ । त्यहाँ जाँदा एक पटकमा करिब दुई लाखसम्म खर्च हुन्छ ।’ ‘ऋण मागेका आफन्तलाई फिर्ता गर्न सकेको भए फेरि माग्न हुन्थ्यो । फिर्ता गर्न सकेको छैन् । अब त कसैले ऋण पनि दिदैनन् ।’ उनले भने ‘अब उपचार गर्न साह्रै समस्या भइसकेको छ । जग्गा बेचेर उपचार गरौँ भने पनि जग्गा छैन् ।’
आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सहयोग गरिदिन सबैलाई उनले आग्रह गरेका छन् । श्रीमतीको उपचारमा आर्थिक अवस्थाका कमजोर भएका कारण समस्या भएकाले सहयोगका लागि अपील गरेको उनले बताए । चेरियाको उपचारमा सहयोग गर्न चाहने महानुभावले चेरिया चौधरीको नाममा कृषि विकास बैंक धनगढी शाखामा रहेको खाता नं.०८२१९०३०४१५७४०११ मा सहयोग गर्न सकिने तथा मोबाइल नं. ९८२४६६५२३६ मा सम्पर्क गर्न सकिने पतिरामले बताए ।













