डोटी- अखिल नेपाल खेलकुद महासंघ डोटीको अध्यक्षमा श्यामसिंह नेपाली निर्वाचित भएका छन् । डोटीको पीपल्लामा आयोजना गरेको भेलाबाट नेपाली अध्यक्षतामा २७ सदस्सीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
यस्तै महासंघको उपाध्यक्षमा सन्तोष खड्का, सचिवमा सुरज नेपाली, सह सचिवमा कृष्ण साउद र कोषाध्यक्षमा शारदा कुमाल सर्वसम्मत निर्वाचित भएका हुन ।
डोटी जिल्ला संयोजक श्याम सिंह नेपालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य शिव सिंह ओली प्रमुख अतिथि रहेको कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम संयोजक तथा खेलकुद विकास समिति कैलालीका अध्यक्ष ललित खत्री विशिष्ट अतिथि रहेका थिए ।
प्रदेश सभा सदस्य ओलीले टाइम पास, मनोरञ्जन, देखाउनलाई मात्र खेल्ने गरेको बताउँदै उनले खेलकुदलाई भविष्य बनाएर लागेपछि आफ्नो विकास सँगै देशको विकास गर्न सकिने बताए । उनले खेलको माध्यमबाट आफुसँगै देशको पनि पहिचान गर्न सकिने बताए ।
सुदूरपश्चिम स्तरीय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा डोटीको नतिजा पुछार आएको भन्दै उनले जिल्लाको खेलकुदको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।
अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम संयोजक खत्रीले युवाहरूलाई कुलतबाट बचाउन खेलकुदको विकास गर्न आवश्यक रहेको बताए । उनले स्कुल स्तरमा रहका बालबालिकालाई खेलकुद क्षेत्रमा समावेश गर्न सके मात्र बालबालिकालाई कुलतबाट बचाउन सकिने बताए ।उनले खेलकुद भित्रका विकृतिका विरुद्ध आवाज उठाउनका साथै लगनशील भएर खेलमा लाग्न सबैलाई आग्रह गरे ।













