एजेन्सी- रूससँग दुई वर्षा बढी समयदेखि युद्धरत युक्रेनले हरेक महिना ५० लाख टन अनाज निर्यात गर्दै आएको छ । यो २०२३ को गर्मीको तुलनामा धेरै हो । युक्रेनले यस वर्षको फेब्रुअरीमा ५८ लाख टन र जनवरीमा ५३ लाख टन अन्न निर्यात गरेको थियो । तर, मार्चमा निर्यातको मात्रा फेरि घटेको छ । सन् २०२२ मा रूसले आक्रमण गर्नुअघि युक्रेनले हरेक महिना ६५ लाख टन अन्न निर्यात गर्ने गरेको थियो।
ब्ल्याक सी ग्रेन इनिसिएटिभ अर्थात् ग्रेन सम्झौताबाट बाहिरिएपछि गत वर्षको जुलाईमा रूसले युक्रेन आउजाउ गर्नेकार्गो जहाजहरूलाई सुरक्षित मार्ग दिन बन्द गरेको थियो । यो सम्झौता समाप्त भएपछि रूसले युक्रेनको अनाज बन्दरगाह र गोदामहरूमा ३० वटा आक्रमण गरेको थियो।
यसका बावजु, केही कार्गो जहाजहरूले युक्रेनी बन्दरगाहतर्फ जान हिम्मत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि युक्रेनले नयाँ निर्यात मार्ग अपनाएको छ । युक्रेनले अगस्ट २०२३ मा एउटा नयाँ अस्थायी निर्यात कोरिडोर सिर्जना गरेको छ जुन पश्चिमी समुद्री किनार हुँदै जान्छन्। यो कार्गो जहाजहरूका लागि अपेक्षाकृत सुरक्षित मार्ग हो किनभने यहाँको समुद्र उथलो र रूसी पनडुब्बीहरूलाई नेभिगेट गर्न गाह्रो छ। यो नयाँ मार्ग रोमानिया र बुल्गेरियाको पानी हुँदै जान्छ। यी दुवै देश नाटोका सदस्य राष्ट्र हुन् ।
युक्रेनका उपप्रधानमन्त्री ओलेक्जेन्डर कुब्ल्याकोभका अनुसार सन् २०२३ को जुलाईमा भएको अन्न सम्झौताको अन्त्यदेखि सन् २०२४ को फेब्रुअरीसम्म ४२ देशमा २ खर्ब टन खाद्यान्न निर्यात गरेको थियो। रूसको आक्रमणअघि युक्रेन विश्वको सातौं ठूलो गहुँ निर्यातकर्ता, जौको चौथो ठूलो निर्यातकर्ता र सूर्यमुखीको सबैभन्दा ठूलो निर्यातक थियो।
युद्ध शुरू भएपछि युक्रेनको निर्यात घटेर विश्वभर अन्नको मूल्य बढेको थियो । खाद्य वस्तुहरू युक्रेनको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । सन् २०२१ मा निर्यातबाट २७।८ अर्ब डलर आम्दानी गरेको थियो। रूसी आक्रमणपछि युक्रेनको अर्थतन्त्रलाई मद्दत गर्न युरोपेली संघले युक्रेनबाट आयात हुने सबै शुल्कहरू रद्द गरेको छ।













